दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई
सामाजिक सेवामा सक्रिय संस्था दिल कुमारी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि पोसाक वितरण गरेको छ ।
अमेरिकामा बस्दै आएका नवराज के.सीको सक्रियतामा संकलित सहयोगबाट प्रतिष्ठानले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्य गर्दै आएको कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष उषा कार्कीले बताइन् । आगामी दिनमा पनि यस प्रकारका कार्यले निरन्तरता पाइरहने अध्यक्ष कार्कीको भनाई थियो ।
प्रतिष्ठानले गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी काठमाडौं आसपासका जिल्लाका सामुदायीक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सहयोग गर्दै आएको प्रतिष्ठानका कोषाध्यक्ष समेत रहेका लोकतान्त्रिक इन्जिनेयर्स एसोसियसनका अध्यक्ष लक्ष्मण के.सीले जानकारी दिए ।
बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई लाभहुने गरी कार्यक्रम संचालन गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे । विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रमका सभापति समेत रहेका बनेपा वडा नं ६ का वडा अध्यक्ष सचितानन्द के.सीले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए । साथै निम्न वर्गीय परिवारका बालबालिकाहरुको पढाइलाई निरन्तरता दिन आफूहरु सधै सक्रिय रहने बताए ।
विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा उपस्थित विद्यार्थीहरुका लागि प्रतिष्ठानकी अध्यक्ष उषा कार्की तथा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले विद्यार्थीहरुका लागि ज्याकेट वितरण गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष भरत के.सी, पत्रकार महासंघ काभ्रे शाखा पूर्व अध्यक्ष नारायण सापकोटा, स्थानीय जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, वडा शिक्षा समितिका पदाधिकारीहरु, बुद्धिजिवी, पत्रकार, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।